Tuesday, November 10, 2015

सवाल - सरोकार

अक्षरमात्रै होइन
आगोपनि ओकल्छ कलम

लेख्नेहरूको मौसम छ यतिबेला
कोही प्रेमले लेख्दैछन्
धेरैले आँसुले लेख्दैछन्
समर्थनमा उफ्रिनेहरू छन्
छन् विरोधमा कराउनेहरू पनि
आँसु सित्तै निलेर
बगीरहेको -
तेलको क्यूबाट
के के लेख्नुहुन्छ सर ?
- आमा रोएको कथा,
- देश रोएको कविता,
वा मातृभूमिको जीवनी ?

त्यो अनुहारमा प्रस्टै देखिन्छ
रगतको नमेटिने दाग,
बेचिएको नदीको धर्सो,
र निभेका ताराहरूको टाटो
छैन केही गर्नुहोला भन्ने आस
आधुनिक हिटलरको
रित्तिएको ग्याँस चेम्बरबाट
सोधिरहेछु कमरेड,
कहिले पाउँछु मैले ?
-दमले थलिएकी आमाको ओखती,
-सुत्केरी जहानको आँत भर्न आगो,
र सस्तोमा दुई पोका नुन, तेल !

यो देशको माटोमा
तपाईँहरूको मिराज होइन
भेटिन्छ मेरो पसिनाको बुँद
रहँदैन भने मैले सिँचेको माटोमा
मेरो पसिनाको मर्यादा
सँधै तपाईँहरूकै पेट भर्ने
यो ढुकुटीको के काम ?
नागरिकता र राहदानी बेच्न मात्रै
राज्य भन्ने भाँडोको के काम ?

कमरेड,
भोकभन्दा ठुलो कुनै 'वाद' हुँदैन मान्छेको
मार्क्सवाद, जनवादका गफ नदिनुस्
सेटलाइटबाट बिजुली बेच्ने गफ नदिनुस्
अब साफसाफ चाहिन्छ जवाफ
सरकार,
कहिले बाल्न पाइन्छ चुल्हो?
कहिले खुल्छ नानीहरूको स्कुल?

२०७२/०७/२२


Monday, November 2, 2015

स्वतन्त्र: अर्थात् म

                                                                  -सौरभ पन्थ
यहाँ कोही स्वतन्त्र छैन
म कसैलाई पनि स्वतन्त्र देख्दिन
जाति/धर्मका वादहरूको अधीनमा छ देश
पुँजीवाद, कम्युनिज्म, ग्लोबल वारर्मिंङ्....
यतै रल्लिएको छ विश्व
हामी कोही पनि स्वतन्त्र छैनौँ

वर्तमान अडिरहेछ इतिहासको आडमा
इतिहासकै शरणमा
घुटुक्क निलेर रगत, पसिना र शवका टुक्राहरू,
बिर्सेछ आफ्नै विगत
त्यसैले अस्थिर छ वर्तमान, चलमल गर्छ
पोल्दैछ निलेको तातो रगतले अचेल

भविष्य ज्यूँदो त छ
आशा, सपना र सोचमा
आजको रित्तोपनालाई खुसीले भर्छ कि भनेर
झरिरहेको तारासँग वरदान मागेजस्तो
पुकारिन्छ, डाकिन्छ भविष्य
आफ्नै अस्तित्व छैन बिचरोको
तर हजारौं समवेद आशाहरू
छातीभरि सलबलाएर
त्यसैको भारमा च्यापिन्छ
यहाँ भविष्य स्वतन्त्र छैन

ऊ माथि हेर त-
सेता दन्तलहर देखाएर मुस्कुराएको हिमाल
त्यो स्वतन्त्र छ जस्तै देखिन्छ
तर कसरी छ स्वतन्त्र?
ढुङ्गाको भरमा छ, माटाको भरमा छ
पीरले कालो आँसु चुहाएको देख्दैनौ?
हिउँ पगालेर हरदिन नुहाएको देख्दैनौ?
बिहानैदेखि सूर्यले कुल्चेको प्रसव पीडामा
आफैले आफ्नो आङ बगाएको देख्दैनौ?
यहाँ हिमाल स्वतन्त्र छैन

जून टलक्क टल्किन्छ अँध्यारोमा
मानौं, त्यहाँ उसकै राज चलेको छ
हाँस्छ कत्ति गर्व गरेर
तर उसको पनि चमक स्वतन्त्र छैन
समय स्वतन्त्र छैन, दाग स्वतन्त्र छैन
के स्वतन्त्रताको कुरा गर्नु
अस्तित्व मात्रै पनि धरापमा छ जूनको
यहाँ जून स्वतन्त्र छैन

मैले नदी उर्लेर बाढी भएको देखेको छु
नदी सुकेर बगर- कबाडी भएको देखेको छु
आकाश छुन उर्लेको छाल
फर्केर सागरमै मिसिन्छ फेरी
अविरल बगिरहने इन्द्रावती
स्थिर बनेको छ समयको अधीनले
यहाँ नदी पनि स्वतन्त्र छैन

डोरी सहित उडेको चङ्गा स्वतन्त्र छैन
पानीको वहाबमा चलेको डुङ्गा स्वतन्त्र छैन
सोच देखि संकोचसम्म
पहाड देखि खोँचसम्म
अन्तरिक्ष चुम्न उडेको रकेट भन्नुस्,
वा बच्चाको आहारा चकलेट भन्नुस्
कोही स्वतन्त्र छैन
बल्छीमा तुर्लुङ्ङ झुन्डिएको हाम्रो गणतन्त्र
विश्वलाई चलाउने अर्थतन्त्र
स्वार्थपूर्तीको मनपरीतन्त्र
यहाँ कोही पनि स्वतन्त्र छैन

केवल स्वतन्त्र छु त म
कुनै वादको जन्जिरले बाँधेको छैन
कुनै आमाको श्रापले पोलेको छैन
म स्वतन्त्र छु
अबोध नाबालकहरूको रगतले
देशद्रोहको धब्बाले
पोतिएको छैन मेरो निधारमा
छुरा र खुकुरीबाट स्वतन्त्र छु
टायरको अत्यासलाग्दो धुवाँबाट स्वतन्त्र छु

म बतास हुन सक्छु
र छर्न सक्छु फूलहरूको मीठो सुवास
म हुरी हुन सक्छु
र ढाल्न सक्छु प्रतिगमनको बूढो रूख
देश बेच्नेहरूको आँखामा कुनै दिन
भर्न सक्छु तिमीहरूले बेचेकै नदीको बालुवा
म छातीमा राष्ट्रियता सजाउन स्वतन्त्र छु
म हातमा झन्डा उठाउन स्वतन्त्र छु
म स्वतन्त्र छु आफू हुनुमा
जात-धर्म-क्षेत्र सबैबाट माथि उठेर
स्वतन्त्र छु नेपाली हुनुमा