Tuesday, November 10, 2015

सवाल - सरोकार

अक्षरमात्रै होइन
आगोपनि ओकल्छ कलम

लेख्नेहरूको मौसम छ यतिबेला
कोही प्रेमले लेख्दैछन्
धेरैले आँसुले लेख्दैछन्
समर्थनमा उफ्रिनेहरू छन्
छन् विरोधमा कराउनेहरू पनि
आँसु सित्तै निलेर
बगीरहेको -
तेलको क्यूबाट
के के लेख्नुहुन्छ सर ?
- आमा रोएको कथा,
- देश रोएको कविता,
वा मातृभूमिको जीवनी ?

त्यो अनुहारमा प्रस्टै देखिन्छ
रगतको नमेटिने दाग,
बेचिएको नदीको धर्सो,
र निभेका ताराहरूको टाटो
छैन केही गर्नुहोला भन्ने आस
आधुनिक हिटलरको
रित्तिएको ग्याँस चेम्बरबाट
सोधिरहेछु कमरेड,
कहिले पाउँछु मैले ?
-दमले थलिएकी आमाको ओखती,
-सुत्केरी जहानको आँत भर्न आगो,
र सस्तोमा दुई पोका नुन, तेल !

यो देशको माटोमा
तपाईँहरूको मिराज होइन
भेटिन्छ मेरो पसिनाको बुँद
रहँदैन भने मैले सिँचेको माटोमा
मेरो पसिनाको मर्यादा
सँधै तपाईँहरूकै पेट भर्ने
यो ढुकुटीको के काम ?
नागरिकता र राहदानी बेच्न मात्रै
राज्य भन्ने भाँडोको के काम ?

कमरेड,
भोकभन्दा ठुलो कुनै 'वाद' हुँदैन मान्छेको
मार्क्सवाद, जनवादका गफ नदिनुस्
सेटलाइटबाट बिजुली बेच्ने गफ नदिनुस्
अब साफसाफ चाहिन्छ जवाफ
सरकार,
कहिले बाल्न पाइन्छ चुल्हो?
कहिले खुल्छ नानीहरूको स्कुल?

२०७२/०७/२२


4 comments:

  1. हो भाइ,यो हामी सबैको साझा प्रश्न हो आधुनिक कमरेडहरुलाई ! सुन्दर !

    ReplyDelete
  2. धन्यवाद गुरू । प्रतिक्रिया पाउँदै गरौँ है ।

    ReplyDelete
  3. लेखाइ अतुलनीय अनि सब्द मर्मस्पर्शी छ ....

    ReplyDelete