(To all those caterpillars who are on the way to transform into butterflies.)
-@ सौरभ पन्थ
-@ सौरभ पन्थ
त्यो घामको किरणले मलाई मात्र जगाएको थिएन
जगाएको थियो मेरै जीवनको अर्को पाटोलाई;
मेरो उत्सुकता, सोच र कल्पनालाई
पल्टाएको थियो, वर्तमानको नयाँ पाना
त्यो अनौठो परिसर, ती बिराना अनुहारहरु -
जसका आकृति कल्पनामा पनि बनेका थिएनन् सायद
ती तारामण्डलहरुको भिडमा लाग्दै थियो,
म जुनको कालो दाग बसेको छु
अहो! कत्ति छिटो बितिसकेछ दुई बर्षको रात
र यी ताराहरु झर्ने संघारमा छन्
दुर्भाग्यवश, यो साँझ फेरी फिर्ने छैन
नाच्ने छैनन् आकाशमा यी ताराहरु
यो बिहान फर्कने छैन फेरी
सारा ताराहरु झारेर जाने, यो बिहानी अमर रहोस् !
च्यातिएका सपनाहरु सिलाउँदै
थोत्रिएका आशाहरु मिलाउँदै
यो प्राङ्गण ब्रह्माण्ड बन्दै गयो
यो आकाश बिशाल बन्दै गयो
जिन्दगीका किताबमा केहि पानाहरु थपिए;
हजारौँ यादहरु बने
कति मायुसीले पोतिएका गुमसुम मुहार
त कति मुस्कानले रंगाएका ओठहरुले याद भरे
कति सहारामा उभ्याएका काँध, त कति
दुश्मनीमा उठाएका हातहरुले याद भरे
खुसीमा साटिएका हर्ष, रोदन, आँशुहरुले याद भरे
शब्दमा नबाँधिने हाम्रो यो कहानी अमर रहोस् !
बर्षौं पछि आज यो मौनता,
हजारौं प्रश्नहरुको उत्तर बन्दै छ
सपना सजाएका आँखाहरु,
झरीको मुहान बन्दै छ
दृढता बोकेको मस्तिष्क
खोज्दैछ, आफ्नै खोक्रोपनको रहस्य
सानो खोला, आफ्नै चाल, उछाल र गतिसंगै
समुन्द्रमा फाल हाल्ने दृढ अपेक्षा बोकेजस्तै
हृदय तयार छ निस्किन -
केहि चलखेल सँगाली,
हाँसो, खुशी, रोदन, आँशु सँगाली
जीवनको अविरल यात्रामा, जहाँ
यिनै सम्झनाहरुले मुस्काउने आधार दिनेछन्
जीवनको बदलिरहने मौसम, यो घाम-पानी अमर रहोस् !
समय स्वार्थी छ, बितेको पत्तो हुँदैन
दिन,हप्ता, महिना गर्दै, बित्नेछ कत्ति समय
हाम्रा आँखाहरु चाहरिरहनेछन्, हजारौंको भिडमा
खोज्दै तिनै अनुहारहरु -
आशमा, कि भेटिएलान् त्यो रात सँगै झरेका ताराहरु
जसले चम्काएका थिए मित्रताको आकाश
भेटिएलान् कुनै दिन फुलेका कपालसँगै,
बदलिएका रङ्गहरु भेटिएलान्
मोटाएका अङ्गहरु भेटिएलान्
त्यतिबेला जीवनको रफ्तारलाई केहीबेर अल्पबिराम लगाएर
चियाको चुस्कीले वातावरण न्यानो बनाउला
वर्तमानका पलहरु घोलिएलान्, सुरू होलान् गफहरु
मायालु जीवनसाथीका गफ होलान्;
चकचके छोराछोरीका गफ होलान्
सँगै रङ्गाएका इतिहासका गफ होलान्
अहिलेका पल पछि व्यस्तता र रफ्तारमा टुंगिनेछन्
चियाको चुस्कीसँगै निलिनेछन्; सम्झनामै बिलाइनेछन्
न यो दिन फर्की आउनेछ
न यी मिठा पलहरु
वर्तमान रङ्गाएको हाम्रो, यो जवानी अमर रहोस् !