Showing posts with label सम्झना. Show all posts
Showing posts with label सम्झना. Show all posts

Friday, March 20, 2020

गल्ती

भर्खरै भर्ना भएको नयाँ विद्यालय
कक्षा आठको तेश्रो दिन
तेश्रो पिरियडको सुरू हुनुभन्दा दुई मिनेट अघि
जब अन्तिम बेन्चतिर फर्कियो तिम्रो मुहार
ठीक त्यसैबेला सुरू भएको हो
हाम्रा आँखाहरूको मौन संवाद
जो अविछिन्न चलिरह्यो
त्यसपछिका कम्तिमा आधा दशक 

सम्झिल्याउँदा जिन्दगीमा
ऊबेलादेखि आजसम्म अनेक गल्तीहरू गरियो
सरले पढाइरहँदा तिमीले आँखा झिम्क्यायौ
आफुले पनि झिम्काइयो
कस्सम कान्छी,
तिम्रै सम्झनामा कति रात अनिदो बिताइयो
तिमीले दिनदिनै ल्याइदिने डेरीमिल्क,
सरले सोध्दा खुसुक्क उत्तर सिकाइदिने बानी,
जन्मदिनको चकलेट,
साइन्सको भाइभा,
कत्ति कत्ति... नराखौं यी गल्तीहरूको हिसाब
टाँस्दा टाँस्दै स्कुलको भित्तेपत्रिका
पत्तै भएन कहिले टाँसियो तिमीसँग म

कम्पासले कोरेर बेन्चमाथी लेखिएका
तिम्रा र मेरा नामका सुरुवाती अक्षरहरू,
सुसेली हालेर एकअर्कालाई जिस्काइरहने साथी,
कक्षाबीच कुरा गर्दा केरिने नोटबुकका अन्तिम पन्नाहरू,
खो-खो र कबड्डीको खेल
सँगैसँगै घर फर्किने दोबाटो,
यी सबै मेरा गल्तीका मौन दर्शकहरू हुन् 

फर्काउन मिल्थ्यो भने समय
कसैगरी उल्टोतिर
र दोहोर्याउन मिल्थ्यो भने कुनै पल जिन्दगीमा,
कस्सम कान्छी, म हरेकपल्ट
जीवनकै सबैभन्दा स्वर्णिम गल्ती,
तिमीसंग पहिलोपटक आँखा जुधेको पल दोहिर्याउने थिएँ 
किनकी -
सही-सलामत रहुन्जेलसम्म यो दृष्टी
यी आँखाहरू कहिल्यै अघाउन्नन् तिमीलाई हेरेर

Wednesday, October 14, 2015

उसँगको भेटपछि..

अस्ति काठमाण्डौ पुगेको बेला
व्यस्त सहरको कुनामा
छुटेको  पच्चिस वर्ष पछि
अनायास भेट भयो ऊसँग
ऊ अर्थात् -
कुनै समयकी सहपाठी,
मेरी सबैभन्दा प्रिय साथी
र बन्न नसकेकी प्रेमिका

कतैकतै फुल्न थालेछ कपाल
रातो मेहन्दी राखेकी रहिछे,

अलिअलि मोटाइछे,

धमिला भएछन् हस्तरेखा,

उमेर पाकेका मसिना धर्सा
देखिन थालेछन् अनुहारमा

अझै उस्तै रहेछ -
माथिल्लो ओठको देब्रेतिर बसेको
मसिनो, कालो कोठी
पहिलेकै जस्तो आँखाको आभा
र पीपलपाते ओठको हाँसो
जसले लाठ्ठ्याएथ्यो मलाई
उहिले, उहिले

मलाई भेटेपछि निकै खुसी भई
नजिकै रहेछ घर
लगेर आफ्नै हातको मिठो कफी खुवाई 
- आफू र श्रीमान् दुवै डाक्टर भएको
- छोराहरू अमेरिका पुगेको
- जिन्दगी सोचेजस्तै सुखी बनेको
यस्तै यस्तै कुराहरू सुनाई

कुनैबेला सँगै पढ्थ्यौं हामी
उमेरका दिन थिए ती
अनगिन्ती रहरका चङ्गाहरू थिए
थियो- चमेली फूल जिस्काएर भाग्ने
बतासजस्तो बैँस !
सम्झनामात्रै पो भएछन् अब ती
कुन विवशताले हुर्काएँ होला
इकारसजस्तो सपना डुबेको जिन्दगी!

पहिले कविता लेख्ने गरेको सम्झाएर सोधी
अचेल लेख्दैनौ  कविता?
कसरी पो भन्नु थियो मैले -
जुनदिन छुट्टिएँ तिमीसित
त्यसैदिनदेखि मर्यो मभित्रको लय
र हरायो मभित्रको कविता

स्मृतिको छाल बढिरह्यो दुवैतिर
र फेरी सोधी -
तिमी हाम्रो कक्षामा भर्खर आएको बेला
मैले गाली गरेको याद आउँदैन ?

तिमीसँग बोल्दा साथीहरूले जिस्काएको,
जिस्काएपछि बोल्न लजाएको,

साइन्सको भाइभामा तिमीलाई सिकाउँदा
मैले गाली खाएको ,

आफ्नो जन्मदिनमा तिमीलाई
अरूलाई भन्दा धेरै चकलेट खुवाएको,

रात-रातभर फोनमा गफ गरेर बिताएको
घुर्काएको, थर्काएको ....
केही, केहीपनि तिमीलाई आउँदैन याद?

याद त कत्ति थियो कत्ति
भनिनँ -
तिमीलाई सम्झिरहन्छु हरपल
बाक्लै देख्छु सपनामा पनि
झन् कसरी भन्न सक्थेँ
उहिल्यै त भन्न नसकेको कुरा
म प्रेम गर्छु तिमीलाई भनेर


 यत्ति  भनेँ  मैले-
असम्भव कुराको याद गरेर के गर्नु
त्यही यादलाई बिर्सन त म
तिमी भएको सहर छोडेर पसेको हुँ गाउँ
आजभन्दा पच्चिस वर्ष पहिले

२०७२/०६/२५

Sunday, October 19, 2014

रातो छाताको छहारी

Pic. source: http://goo.gl/YFfPc8
अस्ति हुनुपर्छ –
जुनदिन बिहानैदेखि चर्किएको थियो घाम
उहि नुनिलो दिन
उक्लनुथियो मलाई सिङ्गै चन्द्रागिरी पहाड
पसिना पुछ्न रुकेको मलाई
तल कुइनेटोबाट बोलाइरहेथ्यो कोहि
''एकछिन पर्ख न है कान्छा,
म पनि आइहालेँ तिमीसँगै"

रातो छातामुनीबाट भन्दैथिइन् उनी-
कति एक्लै एक्लै दौडिरहन्छौ हँ
कति घुम्छौ यी नागबेली घुम्ती
कति पुच्छौ बगिजाने पसिनाका धारा
कान्छा, अब मलाई पनि चढ्नुछ यो पहाड
भन्ज्याङ पुगेर हेर्नुछ - बेसीको सौन्दर्य
टाकुराबाट नाप्नुछ जीवनको उचाइ/गहिराइ
एकैछिन पर्खिनु, म पनि आएँ तिमीसँगै

घामको बाटो छ, नकुदिहाक्नु
उक्लौँला पहाड सँगसँगै
बाँडौला बाटोभर मेरै छाताको छहारी
चिऽसो पानीले आँत भिजाउँला
चौतारीमा सुकाउँला ज्यानको पसिना
बातचित गर्दै गर्दै जाँउला नि उकालो
जानेर –
तिमीले वर्षौंदेखि भन्न नसकेका कुरा
पछ्याउँदै आएकी छु म आफैँ
ल्याएकी छु-
तिमीलाई मनपर्ने चकलेट,
पुराना दिनका केहि रमाइला किस्सा,
वर्षौंदेखिको मनको गुनासो,
र दुवैले ओढ्ने यो रातो छाता
कतै लर्बराए दिनु है ती हातको टेको
तिमीलाई भेट्नै भेट्नै लागेँ कान्छा
पर्ख, म पनि आएँ अब तिमीसँगै ''

उनी अझै आइपुगेकी छैनन्
र भर्खरै सपनाबाट बिँउझिएको छु म

२०७१/०७/०१

And this song as well -

Wednesday, August 6, 2014

मेहन्दी ( २ )

Pic Credit: Samriddhi Rauniyar
http://goo.gl/fbnyzm

यहि श्रावण त हो,
पोहोर साल
लगाइथ्यौ हातभरी मेहन्दी
राखेर फोटो फेसबुकका भित्तामा
देखाइथ्यौ ति हातमा हाँसिरहेका
फुलझैँ सुन्दर मेहन्दीका बुट्टा
चिरिच्याट्ट तिम्रै हात देखेर त हो-
मैले पनि लेखेथेँ
तिम्रो मेहन्दीको कविता
ति हातका सुन्दर बुट्टामा, थपेथेँ
शब्दहरुको नजानिँदो गाढापन
(तिम्रै कविता नभने पनि,देखाएथेँ त तिमीलाई)

यो साल,
न देखिन्छ तिमीलाई
न ति हातमा फुलबुट्टे मेहन्दीको चित्र
सम्झेर उही पुरानो तस्विर
फेरी लेखियो अर्को कविता
थाहा छैन बने/बनेनन् ति हातमा
उस्तै बेजोड गाढा मेहन्दीका बुट्टा

काश, कोही त होस्-
जसले लेखोस्
मेरो पनि सम्झनामा कविता

२०७१/०४/०१

See Here: मेहन्दी(१) 

Saturday, July 19, 2014

जिन्दगी : डेरा

भोलि बिहानको घामसँगै फेर्नुछ मैले
बर्षौदेखि हिंडीआएको मूलबाटो
जानुछ टाढा टाढा
आत्मीय केहि मान्छेहरुबाट
फेरी नटेक्नेगरी यो दैलो
भोलि बिहानको घामसँगै
सर्नुछ डेरा बर्षौदेखि बसिआएको घरबाट

डेरा सर्ने अघिल्लो रात
सम्झिएर छायाझैँ अस्थिर
आफ्नै जिन्दगीको बेरङ्गी चित्र
बनेको छ मन खल्लो- एक तमासको

थाहा छैन काठमाडौँमा
सर्दासर्दै डेरा – वा माइक्रोबसको सिटबाट
कता कता पुगिन्छ जिन्दगीमा
बस् यत्ति थाहा छ,
चलाउँदा चलाउँदै –
किरिङ्मिरिङ् भाग्यरेखामा जिन्दगी
पारेर गुन्टा जीवनभरिका सम्झनाहरुको
बोकेर मनभरी –
     मुटुझैं मित्रहरुको माया,
     बाडुली लगाइरहने प्रियसीको याद,
र सुनाखरीझैँ कलिला नानीहरुको तस्विर
छाडेर अन्तिम पत्र प्रियजनहरुको नाउँमा
कहिल्यै नफिर्नेगरी एकदिन

सर्नुपर्छ डेरा भगवानको गाउँमा  
                                                                                 २७/०२/२०७१ 

Saturday, July 5, 2014

त्यो यथार्थ सपना जस्तो

कैलेकाहीँ शब्दहरु भावनाभन्दा बलिया बन्छन् र निस्कन्छन् आँफै आँफै । यो कविता मेरा मित्र सौरभजीले प्रेमिल समर्पण सहित आफ्नी प्रिया सिम्रनजीका लागि लेख्नु भएको थियो । शब्दहरुको कोमल संयोजन सहितका उहाँका कविताको म फ्यान नै हुँ । मैले निकै अघि यता राख्ने बचा गरेपनि समयाभावका कारण भ्याएको थिइनँ , आज मौका मिल्यो।
बिलम्बका लागि माफी माग्दै र अन्त्यमा दुवै मित्रलाई जीवनभर यस्तै जीवन्त सम्बन्धको कामना गर्दै यो कविता  राखेँ । :D 

त्यो यथार्थ सपना जस्तो

तिमी आयौ मेरो जीवनमा
कुनै जादुगर चमत्कार लिएर आए झैँ
मेरो सारा खुशीको कारण
मेरो मुस्कुराउने आधार
र बाँच्ने लहर बनेर आयौ
मरुभुमीतुल्य मेरो जीवनमा
तलाउबिच सुन्दर फूल बनेर आयौ
सजायौ मेरो जीवन
लाग्यो यो यथार्थ सपना जस्तो
आयौ आकाशमा चम्किरहने जुन बनेर
चम्कायौ मेरा जिन्दगीका आधार
सपना बनेर आयौ मेरो निदमा

आज त्यही सपना यथार्थ बन्दैछ
धन्न तिमी आयौ र पो!

Monday, February 24, 2014

सम्झना... अमर रहोस् !

(To all those caterpillars who are on the way to transform into butterflies.) 
-@ सौरभ पन्थ 

त्यो बिहानी सामान्य थिएन
त्यो घामको किरणले मलाई मात्र जगाएको थिएन
जगाएको थियो मेरै जीवनको अर्को पाटोलाई;
मेरो उत्सुकता, सोच र कल्पनालाई
पल्टाएको थियो, वर्तमानको नयाँ पाना

त्यो अनौठो परिसर, ती बिराना अनुहारहरु -
जसका आकृति कल्पनामा पनि बनेका थिएनन् सायद
ती तारामण्डलहरुको भिडमा लाग्दै थियो,
म जुनको कालो दाग बसेको छु
अहो! कत्ति छिटो बितिसकेछ दुई बर्षको रात
र यी ताराहरु झर्ने संघारमा छन्
दुर्भाग्यवश, यो साँझ फेरी फिर्ने छैन
नाच्ने छैनन् आकाशमा यी ताराहरु
यो बिहान फर्कने छैन फेरी
सारा ताराहरु झारेर जाने, यो बिहानी अमर रहोस् !

च्यातिएका सपनाहरु सिलाउँदै
थोत्रिएका आशाहरु मिलाउँदै
यो प्राङ्गण ब्रह्माण्ड बन्दै गयो
यो आकाश बिशाल बन्दै गयो
जिन्दगीका किताबमा केहि पानाहरु थपिए;
हजारौँ यादहरु बने
कति मायुसीले पोतिएका गुमसुम मुहार   
त कति मुस्कानले रंगाएका ओठहरुले याद भरे
कति सहारामा उभ्याएका काँध, त कति
दुश्मनीमा उठाएका हातहरुले याद भरे
खुसीमा साटिएका हर्ष, रोदन, आँशुहरुले याद भरे
शब्दमा नबाँधिने  हाम्रो यो कहानी अमर रहोस् !

बर्षौं पछि आज यो मौनता,
हजारौं प्रश्नहरुको उत्तर बन्दै छ
सपना सजाएका आँखाहरु,
झरीको मुहान बन्दै छ
दृढता बोकेको मस्तिष्क
खोज्दैछ, आफ्नै खोक्रोपनको रहस्य
सानो खोला, आफ्नै चाल, उछाल र गतिसंगै
समुन्द्रमा फाल हाल्ने दृढ अपेक्षा बोकेजस्तै
हृदय तयार छ निस्किन -
केहि चलखेल सँगाली,
हाँसो, खुशी, रोदन, आँशु सँगाली
जीवनको अविरल यात्रामा, जहाँ
यिनै सम्झनाहरुले मुस्काउने आधार दिनेछन्
जीवनको बदलिरहने मौसम, यो घाम-पानी अमर रहोस् !

समय स्वार्थी छ, बितेको पत्तो हुँदैन
दिन,हप्ता, महिना गर्दै, बित्नेछ कत्ति समय
हाम्रा आँखाहरु चाहरिरहनेछन्, हजारौंको भिडमा
खोज्दै तिनै अनुहारहरु -
आशमा, कि भेटिएलान् त्यो रात सँगै झरेका ताराहरु
जसले चम्काएका थिए मित्रताको आकाश
भेटिएलान् कुनै दिन फुलेका कपालसँगै,
बदलिएका रङ्गहरु भेटिएलान्
मोटाएका अङ्गहरु भेटिएलान्
त्यतिबेला जीवनको रफ्तारलाई केहीबेर अल्पबिराम लगाएर
चियाको चुस्कीले वातावरण न्यानो बनाउला
वर्तमानका पलहरु घोलिएलान्, सुरू होलान् गफहरु
मायालु जीवनसाथीका गफ होलान्;
चकचके छोराछोरीका गफ होलान्
सँगै रङ्गाएका इतिहासका गफ होलान्

अहिलेका पल पछि व्यस्तता र रफ्तारमा टुंगिनेछन्
चियाको चुस्कीसँगै निलिनेछन्; सम्झनामै बिलाइनेछन्
न यो दिन फर्की आउनेछ
न यी मिठा पलहरु
वर्तमान रङ्गाएको हाम्रो, यो जवानी अमर रहोस् !

Friday, August 23, 2013

समय, साथी र सिर्जना

मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस् !

केही समययता यस्तै दुस्साहस गरें । एक धर्सो बाटोमा पैंतालालाई खन्याइदिएँ । खुला आकाशमा  कावा खान रुचाउने मन निसास्सिएको  भए पनि केही बेर रोकिएपछी सास फेर्नुको मज्जा पनि त बेग्लै होला भन्ने विचार पनि त थियो ।

धेरै दिन ब्लगमा पनि निस्कृय देखेर साथी सन्तोषले केही दिन अगाडि मसँग कारण सोध्यो।  अनि बल्ल पो लामो समय हराएको अभास भयो आफैलाई।भर्खर भर्खरै लेख्न सिक्दै गरेको म, यसरी नियमित हेर्ने, सल्लाह दिने साथी पाउँदा खुसी नहुने कुरै थिएन। केही नयाँ स्वरुपमा ब्लग ल्याउन यो राम्रो ब्यानर समेत बनाइदियो। यो सबैका लागि म आभारी छु।


ब्लगमा केही नयाँ पनि त लेख्नै पर्‍यो। २-४ दिन अगाडि कुरै कुराको क्रममा साथी सन्तोषकै सहयोगले तयार पारेको गजल यस्तो बनेछ:-

बर्षातमा ओढ्ने कुनै छाता पाइएन
नया किताब छाप्नुपर्ने गाता पाइएन

घर चुह्यो खरले छाए, मन फेरी चुहेको छ
मनलाई छाउने कुनै जस्तापाता पाइएन

मन बोल्यो आखा बोले, जिब्रो बोल्न खोजेको छ 
खै के भनि बोलाउने नाता पाइएन

थुप्रै आए सापट लागे जवानीमा मन-मुटु
मनको हिसाब राख्न मिल्ने खाता पाइएन

साथ माग्न, हात माग्न थुप्रै थुप्रै आएका छन्
तिमी जस्तै मनकारी कोहि दाता पाइएन