Thursday, July 16, 2015

अफबिट : सपनाको श्वेतपत्र



म आफ्नै सपनाको चिहान
कुरिरहेको मनुवा
नदेख्नू मलाई तिम्रा सपनाहरूमा
म तिनिहरूको निसाफ गर्न सक्दिनँ

म झरेको फूल
म बूढो बालक
म चिसो मान्छे
तिम्रा न्याना हात समाउन सक्दिनँ

खण्डहर जिन्दगी बाँचिरहेछु
तिम्रो शहरको हावा पनि नआइपुग्ने
अग्ला पर्खाल छन् वरपर
सपना त देख्नै पनि वर्जित छ यता
उसो त मैले पनि
लगभग बिर्सिसकेँ सपना देख्न
आक्कल-झुक्कल देखिहाले पनि
श्याम-श्वेत सपना मात्रै देख्छु
रङ्गीन सपनाले आँखा बिगार्छ
आफैलाई यस्तो सम्झाएको छु

मलाई एकदिन जित्नै छ तिम्रो शहर
तिमी भनेर सधैँ हारिरहन सक्दिनँ
तिमी अग्ली टारी छौ, म होचो बेँसी छु
तिमीसँग मेरो उचाइ मिल्दैन
उकालो, ठाडै उकालो छ मेरो बाटो
उकालोमा त  खुट्टा गल्छन्
म तिमीसम्म हिँड्न पनि सक्दिनँ

मेरो घडीबाट हराएको छ एउटा सुई
समय उल्टो चलिरहेछ मेरो
म कसैगरी तिम्रो बराबर बन्न सक्दिनँ
अब त सपनामै भएपनि
तिमीलाई माया गर्छु भन्न सक्दिनँ

कुनैबेला बर्षौंसम्म  देखेका
पुराना सपनाहरूको प्रमाण
मैले तिम्रो आँखाको समुन्द्रमा
एक जहाज माया,
र केही सम्झनाहरू पठाएको छु
तिम्रो आँखा र ओठको प्रशंसामा लेखिएका
केही गीतका अल्बमहरू पठाएको छु

तिमीलाई यो मेरोअन्तिम पत्र हुनसक्छ
अब सधैँ तिम्रै नाममा कविता लेख्न सक्दिनँ  

[“तिमी” पात्र मात्र होइन, तर को हो सोध्न पाइन्न । ]