Wednesday, December 30, 2015

मायाको न्यानो

ए बेइमानी मौसम
यो कठ्याग्रिँदो जाडोमा
एका बिहानै होस्,
या मध्यरात
किन अल्झाइरहन्छस् हँ ?
किन तानिरहन्छस्
उनको सम्मोहनमा !

थाहा छैन -
प्यारो सिरक हुनुपर्छ वा
उनीसँगै भएको आभास

थाहा छैन -
छिनछिनमै टुङ् टुङ् बजिरहने
मेसेज हो या मनको घण्टी

सहरको तापमान झर्दै-झर्दै
शून्यतिर आइपुगेको रात
मन न्यानो पारिराख्ने -
भइबरको गफ हो ?
वा उनको सानिध्य न्यानो भएको ?
ट्विटरमा उफ्रिने रातो पान-पात आकार
उनको मुटु हो वा मेरो धड्केको ?

जतिबेलै गफिइरहन मन लाग्छ,
इत्रिरहन मन लाग्छ,
जिस्काइरहन मन लाग्छ
खोजेर ससाना निहुँ-
बाझ्न पनि मन लाग्छ,
फकाउन पनि मन लाग्छ

कहिलेकाहीँ ऊ भन्छे -
"लभ पर्ला नि कान्छा,
धेरै नबोल्नु मसँग"
-परेन भने ?
-मैले फसाएँ भने ?
म भन्छु, कत्ति जिद्दी छ्यौ तिमी
भन्छे, जिद्दी हैन ; घुर्क्याएको
आफ्नैसँग त हो रिसाउने
एकछिनपछि भन्छे -
कल्ले पो माया लाउँछ तिमीसित
तिमीलाई त फकाउन नि आउँदैन !

अविच्छिन्न चलिरहेछ गफगाफ
तापक्रम घट्दै छ बिस्तारै,
चिसो खुब बढेको छ बाहिर,
एक, दुई हुँदै थपिएको छ टेबलमा-
रित्तो चियाको कप
स्लो मोसनमा चलेको छ घडी,
टुङ्-टुङ् बजिरहेकै छ
च्याटबक्सको मसिनो घण्टी
बजेछ रातको साढे दुई
लौ के गफ गर्दै बसिएछ
सात घण्टासम्म लगातार !

मिठो लत बनेको छ अचेल
उसँगको न्यानो गफ
बेइमानी मौसम,
चलेको छ चिसो सिरेटो
उसले माया गरेजस्तै लाग्ने
मिठा मिठा गफहरूमा
हराएछु म
कुनैदिन उनले भनेजस्तै
परेछ उसैसित लभ !

बस् मुस्काइदिन्छु बदलामा म

1 comment:

  1. evrytym i read ur p0em, i dive into them and nvr want to get back, flowing and flowing in beauty and precision of wrds

    ReplyDelete