Sunday, February 14, 2016

Lullaby


                                                                                         -Saurav Pantha

Yes...
she bleeds until her veins are emptied
she cries until her glands shrink
not a bit of anything she ever asked for,
neither ever will she
from the pitiful morning
to the hasty days
ending to the sleepless nights

With the sorrow she lives
and the sorrow she beholds
and the tears she flows
scrabbling for what she is,
wondering where she actually belongs
you can never see her sleighing
you can never hear her scream
neither you ever cared!

She lives for the children
she sowed and harvested
Instead the plant turned venomous,
turned their back on her
still she believes in righteous indignation,
in the innocence of her soul,
the justice her children owe her
yes, she believes....

If it ends her blood's fight
If it ends her spirit's fright
if she could sleep in her poignant nights
I would give her wings
from bedlam to peace
she could fly
slowly holding her head to my arms


I sing my nation a lullaby

Thursday, February 11, 2016

बधशालामा उभिएर...

हरेक दिन अचेल
साँझ बाक्लिँदै गएपछि
मेरो टहरोको छेउछाउतिर
निभेका ताराहरू झर्छन्
र बनाउँछन्
नाघ्नै नसकिने सिङ्कहोलहरू
तिनै खाल्डाहरूमा हेर्नू -
बौरिनै नसक्नेगरी पुरीएका
हाम्रा कैयन् सपनाका चिहान भेटिन्छन्
ए देश,
मजस्तै सपना हराएका मान्छेहरूलाई
सपना देखाउने
कुनै सपना छ तिमीसित?

जताजता हेर्छु
मान्छेहरू निसासिएको मात्रै देख्छु
बिग्रेको, भत्केको, नासिएको मात्रै देख्छु
उन्नत जे हुनुपर्थ्यो
सब भासिएको मात्रै देख्छु

सिटामोलको गोली किन्न नसकेर
आवाज सुनिदिने बोली किन्न नसकेर
एकसरो लगाउने चोली किन्न नसकेर
गाउँ नै उजाड हुनेगरी
बस्ती सखाप, सखाप हुनेगरी
मान्छेहरू मरिरहेछन् देशमा
...
यो देश हाम्रोपनि हो भन्दा
अब सधैँ दबिएर रहन्नौं भन्दा
हामीलाई पनि अधिकार चाहिन्छ भन्दा
नदी नै रातो हुनेगरी
रगत बगाएर
मान्छेहरू मरिरहेछन् देशमा
...
भुईँचालोमा घर भत्किएकाहरू
घरसँगै भर भत्किएकाहरू
अभर परेपछि जाडोले
राहत मागिरहेछन् घर बनाउन,
आधापेट मात्रै अघाउन्जी' खाएर
आधा, आधा जिन्दगी बाँचेकाहरू
सहन नसकेर भोकको चित्कार
कराइरहेछन् -
"हामीलाई चाँवल देऊ चाँवल,
पेटभरी खान पाउनुपर्छ हामीले"
प्रश्न यत्ति मात्रै हो-
तिनै भोका नागरिकहरूबाट
गाँस कटाएर असुलेको करले
किन किनिन्छ गोली
र सोझ्याएर ताकिन्छ
चामल मागीरहेकाहरूको छातीतिर?
ए देश,
तिमीनै भनिदेऊ
भोको मान्छेले खानुपर्ने
तातो भात हो कि तातो गोली?

मैले जानेको यत्ति हो
औषधी नपाएर,
बास नपाएर,
खाना नपाएर,
मान्छेहरू बित्थैमा मरिरहेको देशलाई
देश होइन बधशाला भन्दिए हुन्छ
...
मैले जानेको यत्ति हो
देश जसले राहदानी मात्रै बेच्छ
र युवाहरूलाई विदेश लघार्छ,
खोल्छ विदेशी मुद्राको सटही काउन्टर,
जहाँ  हरदिन साटिन्छ रेमिट्यान्ससँग
पसिना र रगतको उधारो जिन्दगी
सुन्निनु र मोटाउनुमा फरक हुन्छ महाशय!
जिउँदा नागरिकहरूको रगत बेचेर
हरेक वर्ष बजेट बनाइरहेको देशलाई
देश होइन बधशाला भन्दिए हुन्छ

सम्भावनाहरूले 'सुसाइड नोट' लेखिरहेको यो समय
प्रश्न यत्ति मात्रै हो
खरको छानोमा टिन फेर्ने सपनाले
अरब भासिएको छोरो
धागो बेरेको आफ्नै चिठी समाएर
फर्कियो भने 'रब'को प्यारो भएर
मध्यपूर्वको तातो बालुवामा
पसिना बगाएर पठाएको
युवाहरूको विप्रेषणबाट धानिएको देशले
किन्छ कि किन्दैन
उसकी पत्नीको लागि डिप्रेसनको औषधि?
कि थपिन्छ,
मात्र थपिन्छ
जिल्ला प्रहरीको फाइलमा
आत्महत्याको नयाँ रेकर्ड
श्रीमती मैना खवास
उमेर- २३ वर्ष!

अलि पर देखिरहेछु -
अस्पताल लैजान नपाएर
एम्बुलेन्सभित्रै मरेको बच्चाको लास
आँखैअघि देखिरहेछु
बलात्कृत भएर फालिएकी युवतीको
खुट्टाछेउ आलो रगतको टाटो
र डाक्टरले हिजोमात्रै पठाएको
फर्जी फरेन्सिक रिपोर्ट
अघिल्तिर छन् -
एक्लै हिँड्न पनि डराउन थालेका
आमा/दिदी, साथीहरूको उदास अनुहार
यो धर्तीकै सबैभन्दा कुरूप ठाउँमा उभिएको
यो देशको सबैभन्दा लाचार नागरिक
सोधिरहेछु निरन्तर
ए देश,
तिमीलाई देश भनौं कि बधशाला?

Saturday, February 6, 2016

साला पहाडोमेँ क्या है

उहिले~
हामी सानो छँदाको कुरा हो
अचेलका हामीजत्रै दाइ, अंकलहरू
कुनैदिन एकाएक हराउँथे घरबाट
कसैलाई पत्तो हुन्थेन कहाँ गएका हुन्
अर्को वा झन् अर्को दसैँतिर
काँधमा चाइनिज क्यासेट बोकेर
अग्ला बुटजुत्ता बजार्दै
फेरी आइपुग्थे गाउँ
लाहुरे बनेर

ल्याउँथे गाउँभरलाई पुग्ने कोसेली
आमालाई गुन्यूँ, साडी
बालाई लवेदा, फेटा
भाइहरूलाई पिल्पिले घडी
र कुर्ता-सलवार मनपर्ने सोल्टिनीका लागी


चौतारीमा बसेर सुनाउँथे
लाहुरमा देखेका कुरा -
चिल्ला सडक, अग्ला घर,
मोटरगाडी, रेलगाडी...
वा यस्तै यस्तै
'लाहुर'का तिलस्मी कथा
हेर्थे झुपडीजस्ता 'मकान'
धुलो उड्ने साँघुरो 'रास्ता'
र पिच्च छेउतिर थुकेर भन्थे-
साला पहाडोमें क्या है!


अचेल पनि गइरहेछन् ~
दाइ, अंकल र साथीहरू
देश छोडेर
फरक यत्तिमात्रै हो
भागेर लाहुर जानेहरू
कम भएका छन् अचेल
निधारमा दही अक्षताको रातो टिका
आँखामा मधुरा सपना
र ब्यागमा प्रियसीको फोटो
बोकेर जान्छन् उनीहरू
मलेसिया, कतारका खाडीहरुतिर
कोही पुग्छन् युरोप, अमेरिकातिर...
अक्सर फर्केर आउँछन्
दुई या तिन वर्षपछि
क्यासेट र सन्दुकको साटो
रङ्गीन टिभी र सुटकेश बोकेर
घडीको सट्टा भाइलाई आइफोन
प्रियसीको लागी 'सेल्फी स्टीक' बोकेर
यत्ति फेरिएको हो दृश्य


फर्केर आएकाहरू उस्तैगरी सुनाइरहेछन्
उही चौतारोमा बसेर
चौडा सडक, ठुला चिलगाडीहरूका किस्सा
सुन्नेहरूलाई सित्तैमा बेचिरहेछन्
आलिसान जिन्दगीको सपना
र बिदा सकेर फर्कनेबेला
पिच्च थुकेर पिढीको डिलबाट
भनिरहेछन्-
साला पहाडोमें क्या है!


कम्तीमा विगत चार पुस्ताले
सिँहदरबारतिर फर्केर
निरन्तर सोधिरहेको यो प्रश्नको
कसले, कहिले दिन्छ उत्तर
साला पहाडोमें क्या है?