Saturday, February 6, 2016

साला पहाडोमेँ क्या है

उहिले~
हामी सानो छँदाको कुरा हो
अचेलका हामीजत्रै दाइ, अंकलहरू
कुनैदिन एकाएक हराउँथे घरबाट
कसैलाई पत्तो हुन्थेन कहाँ गएका हुन्
अर्को वा झन् अर्को दसैँतिर
काँधमा चाइनिज क्यासेट बोकेर
अग्ला बुटजुत्ता बजार्दै
फेरी आइपुग्थे गाउँ
लाहुरे बनेर

ल्याउँथे गाउँभरलाई पुग्ने कोसेली
आमालाई गुन्यूँ, साडी
बालाई लवेदा, फेटा
भाइहरूलाई पिल्पिले घडी
र कुर्ता-सलवार मनपर्ने सोल्टिनीका लागी


चौतारीमा बसेर सुनाउँथे
लाहुरमा देखेका कुरा -
चिल्ला सडक, अग्ला घर,
मोटरगाडी, रेलगाडी...
वा यस्तै यस्तै
'लाहुर'का तिलस्मी कथा
हेर्थे झुपडीजस्ता 'मकान'
धुलो उड्ने साँघुरो 'रास्ता'
र पिच्च छेउतिर थुकेर भन्थे-
साला पहाडोमें क्या है!


अचेल पनि गइरहेछन् ~
दाइ, अंकल र साथीहरू
देश छोडेर
फरक यत्तिमात्रै हो
भागेर लाहुर जानेहरू
कम भएका छन् अचेल
निधारमा दही अक्षताको रातो टिका
आँखामा मधुरा सपना
र ब्यागमा प्रियसीको फोटो
बोकेर जान्छन् उनीहरू
मलेसिया, कतारका खाडीहरुतिर
कोही पुग्छन् युरोप, अमेरिकातिर...
अक्सर फर्केर आउँछन्
दुई या तिन वर्षपछि
क्यासेट र सन्दुकको साटो
रङ्गीन टिभी र सुटकेश बोकेर
घडीको सट्टा भाइलाई आइफोन
प्रियसीको लागी 'सेल्फी स्टीक' बोकेर
यत्ति फेरिएको हो दृश्य


फर्केर आएकाहरू उस्तैगरी सुनाइरहेछन्
उही चौतारोमा बसेर
चौडा सडक, ठुला चिलगाडीहरूका किस्सा
सुन्नेहरूलाई सित्तैमा बेचिरहेछन्
आलिसान जिन्दगीको सपना
र बिदा सकेर फर्कनेबेला
पिच्च थुकेर पिढीको डिलबाट
भनिरहेछन्-
साला पहाडोमें क्या है!


कम्तीमा विगत चार पुस्ताले
सिँहदरबारतिर फर्केर
निरन्तर सोधिरहेको यो प्रश्नको
कसले, कहिले दिन्छ उत्तर
साला पहाडोमें क्या है?

No comments:

Post a Comment