Saturday, October 22, 2016

लुकामारी

Shall thou be my doctor,
I'll be a patient 24X7 

अरे
म त आधामात्रै पो हुँ
अन्तै कतै छोडीआएको छु आफ्नो आधा स्वरुप

आधा हुनु भनेको अपुरो हुनु होइन
आधा हुँदैमा एक्लो, अधुरो भन्नु पनि हुँदैन
हँसियाजस्तै घुमेको आधा चन्द्रमा
पुरै गोलोभन्दा पनि राम्रो देखिन्छ
जसरी राम्रो देखिन्छ
अलिकति ओठ खुल्दा देखिने
उनको आधा मुस्कान

उनी पनि त आधा छिन्
म पनि त आधा छु
तर आधा-आधा नै भएर सही
फरक फरक गोलार्धमा रहेरै सही
हामीबीच यौटा पुल छ समानताको
उनी मलाई पूरा गर्छिन, म उनलाई पूरा गर्छु

उनी डाक्टरी पढ्दैछिन्,
म रोग जम्मा गरिरहेछु 

Monday, October 3, 2016

दस्सैं


हजुर,
म यो दशको आन्तरिक पर्यटक

हरेक साल दशैं लागेपछि
राजधानी छोड्छु,
कोचिएर थोत्रो मिनीबसभित्र
उक्लन्छु पहाड र पुग्छु गाउँ -
उही धुलाम्मे बाटाहरू
जहाँ दौडदादौडदै
मेरै पछि छुटेको थियो मेरो बाल्यकाल
त्यही भूगोल जहाँ
बयर र ऐंसेलुका घारीभारी अनगिन्ती दौंतरीहरू छोडेर
गुराँसका डालीहरूमा  एक अन्जुली मुस्कान छोडेर
बर्षौंपहिले हिंडेको थिएँ शहर
सपना सिंगार्न

हजुर,
म यो दशको आन्तरिक पर्यटक
हरेक बर्ष दशैँ लागेपछि उसैगरी सुरु हुन्छ
र दशैं सकिएपछि उसैगरी सकिन्छ
मेरो वार्षिक भ्रमण शृंखला                                        
                                       (September 27)