![]() |
Pic. source: http://goo.gl/YFfPc8 |
जुनदिन बिहानैदेखि चर्किएको थियो घाम
उहि नुनिलो दिन
उक्लनुथियो मलाई सिङ्गै चन्द्रागिरी पहाड
पसिना पुछ्न रुकेको मलाई
तल कुइनेटोबाट बोलाइरहेथ्यो कोहि
''एकछिन पर्ख न है कान्छा,
म पनि आइहालेँ तिमीसँगै"
रातो छातामुनीबाट भन्दैथिइन् उनी-
कति एक्लै एक्लै दौडिरहन्छौ हँ
कति घुम्छौ यी नागबेली घुम्ती
कति पुच्छौ बगिजाने पसिनाका धारा
कान्छा, अब मलाई पनि चढ्नुछ यो पहाड
भन्ज्याङ पुगेर हेर्नुछ - बेसीको सौन्दर्य
टाकुराबाट नाप्नुछ जीवनको उचाइ/गहिराइ
एकैछिन पर्खिनु, म पनि आएँ तिमीसँगै
घामको बाटो छ, नकुदिहाक्नु
उक्लौँला पहाड सँगसँगै
बाँडौला बाटोभर मेरै छाताको छहारी
चिऽसो पानीले आँत भिजाउँला
चौतारीमा सुकाउँला ज्यानको पसिना
बातचित गर्दै गर्दै जाँउला नि उकालो
जानेर –
तिमीले वर्षौंदेखि भन्न नसकेका कुरा
पछ्याउँदै आएकी छु म आफैँ
ल्याएकी छु-
तिमीलाई मनपर्ने चकलेट,
पुराना दिनका केहि रमाइला किस्सा,
वर्षौंदेखिको मनको गुनासो,
र दुवैले ओढ्ने यो रातो छाता
कतै लर्बराए दिनु है ती हातको टेको
तिमीलाई भेट्नै भेट्नै लागेँ कान्छा
पर्ख, म पनि आएँ अब तिमीसँगै ''
उनी अझै आइपुगेकी छैनन्
र भर्खरै सपनाबाट बिँउझिएको छु म
२०७१/०७/०१
And this song as well -