Saturday, July 19, 2014

जिन्दगी : डेरा

भोलि बिहानको घामसँगै फेर्नुछ मैले
बर्षौदेखि हिंडीआएको मूलबाटो
जानुछ टाढा टाढा
आत्मीय केहि मान्छेहरुबाट
फेरी नटेक्नेगरी यो दैलो
भोलि बिहानको घामसँगै
सर्नुछ डेरा बर्षौदेखि बसिआएको घरबाट

डेरा सर्ने अघिल्लो रात
सम्झिएर छायाझैँ अस्थिर
आफ्नै जिन्दगीको बेरङ्गी चित्र
बनेको छ मन खल्लो- एक तमासको

थाहा छैन काठमाडौँमा
सर्दासर्दै डेरा – वा माइक्रोबसको सिटबाट
कता कता पुगिन्छ जिन्दगीमा
बस् यत्ति थाहा छ,
चलाउँदा चलाउँदै –
किरिङ्मिरिङ् भाग्यरेखामा जिन्दगी
पारेर गुन्टा जीवनभरिका सम्झनाहरुको
बोकेर मनभरी –
     मुटुझैं मित्रहरुको माया,
     बाडुली लगाइरहने प्रियसीको याद,
र सुनाखरीझैँ कलिला नानीहरुको तस्विर
छाडेर अन्तिम पत्र प्रियजनहरुको नाउँमा
कहिल्यै नफिर्नेगरी एकदिन

सर्नुपर्छ डेरा भगवानको गाउँमा  
                                                                                 २७/०२/२०७१ 

Saturday, July 5, 2014

त्यो यथार्थ सपना जस्तो

कैलेकाहीँ शब्दहरु भावनाभन्दा बलिया बन्छन् र निस्कन्छन् आँफै आँफै । यो कविता मेरा मित्र सौरभजीले प्रेमिल समर्पण सहित आफ्नी प्रिया सिम्रनजीका लागि लेख्नु भएको थियो । शब्दहरुको कोमल संयोजन सहितका उहाँका कविताको म फ्यान नै हुँ । मैले निकै अघि यता राख्ने बचा गरेपनि समयाभावका कारण भ्याएको थिइनँ , आज मौका मिल्यो।
बिलम्बका लागि माफी माग्दै र अन्त्यमा दुवै मित्रलाई जीवनभर यस्तै जीवन्त सम्बन्धको कामना गर्दै यो कविता  राखेँ । :D 

त्यो यथार्थ सपना जस्तो

तिमी आयौ मेरो जीवनमा
कुनै जादुगर चमत्कार लिएर आए झैँ
मेरो सारा खुशीको कारण
मेरो मुस्कुराउने आधार
र बाँच्ने लहर बनेर आयौ
मरुभुमीतुल्य मेरो जीवनमा
तलाउबिच सुन्दर फूल बनेर आयौ
सजायौ मेरो जीवन
लाग्यो यो यथार्थ सपना जस्तो
आयौ आकाशमा चम्किरहने जुन बनेर
चम्कायौ मेरा जिन्दगीका आधार
सपना बनेर आयौ मेरो निदमा

आज त्यही सपना यथार्थ बन्दैछ
धन्न तिमी आयौ र पो!