भर्खरै भर्ना भएको नयाँ विद्यालय
कक्षा आठको तेश्रो दिन
तेश्रो पिरियडको सुरू हुनुभन्दा दुई मिनेट अघि
जब अन्तिम बेन्चतिर फर्कियो तिम्रो मुहार
ठीक त्यसैबेला सुरू भएको हो
हाम्रा आँखाहरूको मौन संवाद
जो अविछिन्न चलिरह्यो
त्यसपछिका कम्तिमा आधा दशक
सम्झिल्याउँदा जिन्दगीमा
ऊबेलादेखि आजसम्म अनेक गल्तीहरू गरियो
सरले पढाइरहँदा तिमीले आँखा झिम्क्यायौ
आफुले पनि झिम्काइयो
कस्सम कान्छी,
तिम्रै सम्झनामा कति रात अनिदो बिताइयो
तिमीले दिनदिनै ल्याइदिने डेरीमिल्क,
सरले सोध्दा खुसुक्क उत्तर सिकाइदिने बानी,
जन्मदिनको चकलेट,
साइन्सको भाइभा,
कत्ति कत्ति... नराखौं यी गल्तीहरूको हिसाब
टाँस्दा टाँस्दै स्कुलको भित्तेपत्रिका
पत्तै भएन कहिले टाँसियो तिमीसँग म
कम्पासले कोरेर बेन्चमाथी लेखिएका
तिम्रा र मेरा नामका सुरुवाती अक्षरहरू,
सुसेली हालेर एकअर्कालाई जिस्काइरहने साथी,
कक्षाबीच कुरा गर्दा केरिने नोटबुकका अन्तिम पन्नाहरू,
खो-खो र कबड्डीको खेल
सँगैसँगै घर फर्किने दोबाटो,
यी सबै मेरा गल्तीका मौन दर्शकहरू हुन्
फर्काउन मिल्थ्यो भने समय
कसैगरी उल्टोतिर
र दोहोर्याउन मिल्थ्यो भने कुनै पल जिन्दगीमा,
कस्सम कान्छी, म हरेकपल्ट
जीवनकै सबैभन्दा स्वर्णिम गल्ती,
तिमीसंग पहिलोपटक आँखा जुधेको पल दोहिर्याउने थिएँ
किनकी -
सही-सलामत रहुन्जेलसम्म यो दृष्टी
यी आँखाहरू कहिल्यै अघाउन्नन् तिमीलाई हेरेर
No comments:
Post a Comment