मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस् !
केही समययता यस्तै दुस्साहस गरें । एक धर्सो बाटोमा पैंतालालाई खन्याइदिएँ । खुला आकाशमा कावा खान रुचाउने मन निसास्सिएको भए पनि केही बेर रोकिएपछी सास फेर्नुको मज्जा पनि त बेग्लै होला भन्ने विचार पनि त थियो ।
धेरै दिन ब्लगमा पनि निस्कृय देखेर साथी
सन्तोषले केही दिन अगाडि मसँग कारण सोध्यो। अनि बल्ल पो लामो समय हराएको अभास भयो आफैलाई।भर्खर भर्खरै लेख्न सिक्दै गरेको म, यसरी नियमित हेर्ने, सल्लाह दिने साथी पाउँदा खुसी नहुने कुरै थिएन। केही नयाँ स्वरुपमा ब्लग ल्याउन यो राम्रो ब्यानर समेत बनाइदियो। यो सबैका लागि म आभारी छु।
ब्लगमा केही नयाँ पनि त लेख्नै पर्यो। २-४ दिन अगाडि कुरै कुराको क्रममा साथी सन्तोषकै सहयोगले तयार पारेको गजल यस्तो बनेछ:-
बर्षातमा ओढ्ने कुनै छाता पाइएन
नया किताब छाप्नुपर्ने गाता पाइएन
घर चुह्यो खरले छाए, मन फेरी चुहेको छ
मनलाई छाउने कुनै जस्तापाता पाइएन
मन बोल्यो आखा बोले, जिब्रो बोल्न खोजेको छ
खै के भनि बोलाउने नाता पाइएन
थुप्रै आए सापट लागे जवानीमा मन-मुटु
मनको हिसाब राख्न मिल्ने खाता पाइएन
साथ माग्न, हात माग्न थुप्रै थुप्रै आएका छन्
तिमी जस्तै मनकारी कोहि दाता पाइएन