Monday, February 24, 2014

सम्झना... अमर रहोस् !

(To all those caterpillars who are on the way to transform into butterflies.) 
-@ सौरभ पन्थ 

त्यो बिहानी सामान्य थिएन
त्यो घामको किरणले मलाई मात्र जगाएको थिएन
जगाएको थियो मेरै जीवनको अर्को पाटोलाई;
मेरो उत्सुकता, सोच र कल्पनालाई
पल्टाएको थियो, वर्तमानको नयाँ पाना

त्यो अनौठो परिसर, ती बिराना अनुहारहरु -
जसका आकृति कल्पनामा पनि बनेका थिएनन् सायद
ती तारामण्डलहरुको भिडमा लाग्दै थियो,
म जुनको कालो दाग बसेको छु
अहो! कत्ति छिटो बितिसकेछ दुई बर्षको रात
र यी ताराहरु झर्ने संघारमा छन्
दुर्भाग्यवश, यो साँझ फेरी फिर्ने छैन
नाच्ने छैनन् आकाशमा यी ताराहरु
यो बिहान फर्कने छैन फेरी
सारा ताराहरु झारेर जाने, यो बिहानी अमर रहोस् !

च्यातिएका सपनाहरु सिलाउँदै
थोत्रिएका आशाहरु मिलाउँदै
यो प्राङ्गण ब्रह्माण्ड बन्दै गयो
यो आकाश बिशाल बन्दै गयो
जिन्दगीका किताबमा केहि पानाहरु थपिए;
हजारौँ यादहरु बने
कति मायुसीले पोतिएका गुमसुम मुहार   
त कति मुस्कानले रंगाएका ओठहरुले याद भरे
कति सहारामा उभ्याएका काँध, त कति
दुश्मनीमा उठाएका हातहरुले याद भरे
खुसीमा साटिएका हर्ष, रोदन, आँशुहरुले याद भरे
शब्दमा नबाँधिने  हाम्रो यो कहानी अमर रहोस् !

बर्षौं पछि आज यो मौनता,
हजारौं प्रश्नहरुको उत्तर बन्दै छ
सपना सजाएका आँखाहरु,
झरीको मुहान बन्दै छ
दृढता बोकेको मस्तिष्क
खोज्दैछ, आफ्नै खोक्रोपनको रहस्य
सानो खोला, आफ्नै चाल, उछाल र गतिसंगै
समुन्द्रमा फाल हाल्ने दृढ अपेक्षा बोकेजस्तै
हृदय तयार छ निस्किन -
केहि चलखेल सँगाली,
हाँसो, खुशी, रोदन, आँशु सँगाली
जीवनको अविरल यात्रामा, जहाँ
यिनै सम्झनाहरुले मुस्काउने आधार दिनेछन्
जीवनको बदलिरहने मौसम, यो घाम-पानी अमर रहोस् !

समय स्वार्थी छ, बितेको पत्तो हुँदैन
दिन,हप्ता, महिना गर्दै, बित्नेछ कत्ति समय
हाम्रा आँखाहरु चाहरिरहनेछन्, हजारौंको भिडमा
खोज्दै तिनै अनुहारहरु -
आशमा, कि भेटिएलान् त्यो रात सँगै झरेका ताराहरु
जसले चम्काएका थिए मित्रताको आकाश
भेटिएलान् कुनै दिन फुलेका कपालसँगै,
बदलिएका रङ्गहरु भेटिएलान्
मोटाएका अङ्गहरु भेटिएलान्
त्यतिबेला जीवनको रफ्तारलाई केहीबेर अल्पबिराम लगाएर
चियाको चुस्कीले वातावरण न्यानो बनाउला
वर्तमानका पलहरु घोलिएलान्, सुरू होलान् गफहरु
मायालु जीवनसाथीका गफ होलान्;
चकचके छोराछोरीका गफ होलान्
सँगै रङ्गाएका इतिहासका गफ होलान्

अहिलेका पल पछि व्यस्तता र रफ्तारमा टुंगिनेछन्
चियाको चुस्कीसँगै निलिनेछन्; सम्झनामै बिलाइनेछन्
न यो दिन फर्की आउनेछ
न यी मिठा पलहरु
वर्तमान रङ्गाएको हाम्रो, यो जवानी अमर रहोस् !

Friday, November 22, 2013

चुनाव


जसले जितोस् वा हारोस्
मलाई 'छु मतलब' ?

मेरो त प्रत्यक्ष पनि तिमी,
समानुपातिक नि तिमी
तिमी नै आऊ -
र जितेर लैजाऊ 
यो मनको सत्ता 
तिम्रै भो पक्का !!

Sunday, October 20, 2013

समाज


माड्साबले सधैं पढाए -
मानिस सामाजिक प्राणी हो !

हो रैछ
तिमी यहाँ फलो गर्छौ
जिब्रो पड्काउँछौं
छिर्के लाउँछौं
ढाँट्छौं,
काट्छौं...
र उनै मास्टर पढाइरहेका बेला
आँखा बटारेर पुलुक्क हेर्छौ -
स्निग्ध हेराइ 
साथीहरुले जिस्काउंदा
रिसाउँछयौ,
कराउँछ्यौ...

तिमीले याद गर्यौ ?
तिमीले हेरिरहेको मान्छे
अझै चुपचाप बसिरहेको छ 

Thursday, September 12, 2013

म त "बन्द"को समर्थक हुँ....

हिजोसम्म खुला सहर बन्द गरिएको छ आज,
बन्द भएका छन्-
चोकका पसल, स्कुल र अफिसहरु
रोकिएका छन् -

धुलो उडाउँदै गुड्ने गाडी
तर पनि सहर सुतेको छैन 

ऊ,  हेर त -
झन् ब्यस्त बनेको छ सडक
क्रिकेट, फूटबल खेल्ने केटाकेटी
र हिँड्ने मान्छेहरुको रौनकले 

शहर यतिबिघ्न चलेको मन पर्दैन मलाई
म पनि त बन्दको समर्थक हुँ ...

बरु यसो गरौं न,
तिमी हामी मिलेर-
घनघोर बन्दको आयोजना गरौँ, 
सहर ठ्याप्पै बन्द पारौँ,
यस्तो बन्द जसपछि--
बन्द होस् हत्याआतंकको शिलशिला! 
बन्द होस् भ्रष्टाचार! 
बन्द होस् साम्प्रदायिक संकुचित विचार!
बन्द होस् घृणा !!! 

आउन फेरी एउटा शानदार बन्द गरौँ ।

Saturday, August 24, 2013

आमा


बिहानै झुल्के घामसँगै
अमौरी खोल्चा या रामचे भीर पुग्छिन्
र काट्छिन् मेरी आमा
गह्रौ, अग्लो भारी घाँस

आफ्ना दुई हातहरू मध्ये
एउटा हातले हँसिया
र अर्को हातले
घाँसको सप्को समाउँदै
आमाले घाँस काट्दै गर्दा
जब उनी
छोरा—छोरीको
उज्यालो मुहार सम्झन्छिन्
धप्प बल्छ अनुहार खुशीले
घाँस कटाईको गति बढ्छ
उछिट्न्छि हँसिया
औँलो ताछिएर भुलभुलती बग्छ रगत.....!
आमा घाँस काटिरहन्छिन्

म सोचिरहेको छु-
पसिना पुछेरै पनि आमा
मुस्कुराइरहँदा,
आफ्ना सन्तानहरुको सम्झनामा
किन फुल्न सकेन त
मुस्कान हाम्रो अनुहारमा?

see more: आमा

Friday, August 23, 2013

समय, साथी र सिर्जना

मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस् !

केही समययता यस्तै दुस्साहस गरें । एक धर्सो बाटोमा पैंतालालाई खन्याइदिएँ । खुला आकाशमा  कावा खान रुचाउने मन निसास्सिएको  भए पनि केही बेर रोकिएपछी सास फेर्नुको मज्जा पनि त बेग्लै होला भन्ने विचार पनि त थियो ।

धेरै दिन ब्लगमा पनि निस्कृय देखेर साथी सन्तोषले केही दिन अगाडि मसँग कारण सोध्यो।  अनि बल्ल पो लामो समय हराएको अभास भयो आफैलाई।भर्खर भर्खरै लेख्न सिक्दै गरेको म, यसरी नियमित हेर्ने, सल्लाह दिने साथी पाउँदा खुसी नहुने कुरै थिएन। केही नयाँ स्वरुपमा ब्लग ल्याउन यो राम्रो ब्यानर समेत बनाइदियो। यो सबैका लागि म आभारी छु।


ब्लगमा केही नयाँ पनि त लेख्नै पर्‍यो। २-४ दिन अगाडि कुरै कुराको क्रममा साथी सन्तोषकै सहयोगले तयार पारेको गजल यस्तो बनेछ:-

बर्षातमा ओढ्ने कुनै छाता पाइएन
नया किताब छाप्नुपर्ने गाता पाइएन

घर चुह्यो खरले छाए, मन फेरी चुहेको छ
मनलाई छाउने कुनै जस्तापाता पाइएन

मन बोल्यो आखा बोले, जिब्रो बोल्न खोजेको छ 
खै के भनि बोलाउने नाता पाइएन

थुप्रै आए सापट लागे जवानीमा मन-मुटु
मनको हिसाब राख्न मिल्ने खाता पाइएन

साथ माग्न, हात माग्न थुप्रै थुप्रै आएका छन्
तिमी जस्तै मनकारी कोहि दाता पाइएन