Friday, November 22, 2013

चुनाव


जसले जितोस् वा हारोस्
मलाई 'छु मतलब' ?

मेरो त प्रत्यक्ष पनि तिमी,
समानुपातिक नि तिमी
तिमी नै आऊ -
र जितेर लैजाऊ 
यो मनको सत्ता 
तिम्रै भो पक्का !!

Sunday, October 20, 2013

समाज


माड्साबले सधैं पढाए -
मानिस सामाजिक प्राणी हो !

हो रैछ
तिमी यहाँ फलो गर्छौ
जिब्रो पड्काउँछौं
छिर्के लाउँछौं
ढाँट्छौं,
काट्छौं...
र उनै मास्टर पढाइरहेका बेला
आँखा बटारेर पुलुक्क हेर्छौ -
स्निग्ध हेराइ 
साथीहरुले जिस्काउंदा
रिसाउँछयौ,
कराउँछ्यौ...

तिमीले याद गर्यौ ?
तिमीले हेरिरहेको मान्छे
अझै चुपचाप बसिरहेको छ 

Thursday, September 12, 2013

म त "बन्द"को समर्थक हुँ....

हिजोसम्म खुला सहर बन्द गरिएको छ आज,
बन्द भएका छन्-
चोकका पसल, स्कुल र अफिसहरु
रोकिएका छन् -

धुलो उडाउँदै गुड्ने गाडी
तर पनि सहर सुतेको छैन 

ऊ,  हेर त -
झन् ब्यस्त बनेको छ सडक
क्रिकेट, फूटबल खेल्ने केटाकेटी
र हिँड्ने मान्छेहरुको रौनकले 

शहर यतिबिघ्न चलेको मन पर्दैन मलाई
म पनि त बन्दको समर्थक हुँ ...

बरु यसो गरौं न,
तिमी हामी मिलेर-
घनघोर बन्दको आयोजना गरौँ, 
सहर ठ्याप्पै बन्द पारौँ,
यस्तो बन्द जसपछि--
बन्द होस् हत्याआतंकको शिलशिला! 
बन्द होस् भ्रष्टाचार! 
बन्द होस् साम्प्रदायिक संकुचित विचार!
बन्द होस् घृणा !!! 

आउन फेरी एउटा शानदार बन्द गरौँ ।

Saturday, August 24, 2013

आमा


बिहानै झुल्के घामसँगै
अमौरी खोल्चा या रामचे भीर पुग्छिन्
र काट्छिन् मेरी आमा
गह्रौ, अग्लो भारी घाँस

आफ्ना दुई हातहरू मध्ये
एउटा हातले हँसिया
र अर्को हातले
घाँसको सप्को समाउँदै
आमाले घाँस काट्दै गर्दा
जब उनी
छोरा—छोरीको
उज्यालो मुहार सम्झन्छिन्
धप्प बल्छ अनुहार खुशीले
घाँस कटाईको गति बढ्छ
उछिट्न्छि हँसिया
औँलो ताछिएर भुलभुलती बग्छ रगत.....!
आमा घाँस काटिरहन्छिन्

म सोचिरहेको छु-
पसिना पुछेरै पनि आमा
मुस्कुराइरहँदा,
आफ्ना सन्तानहरुको सम्झनामा
किन फुल्न सकेन त
मुस्कान हाम्रो अनुहारमा?

see more: आमा

Friday, August 23, 2013

समय, साथी र सिर्जना

मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस् !

केही समययता यस्तै दुस्साहस गरें । एक धर्सो बाटोमा पैंतालालाई खन्याइदिएँ । खुला आकाशमा  कावा खान रुचाउने मन निसास्सिएको  भए पनि केही बेर रोकिएपछी सास फेर्नुको मज्जा पनि त बेग्लै होला भन्ने विचार पनि त थियो ।

धेरै दिन ब्लगमा पनि निस्कृय देखेर साथी सन्तोषले केही दिन अगाडि मसँग कारण सोध्यो।  अनि बल्ल पो लामो समय हराएको अभास भयो आफैलाई।भर्खर भर्खरै लेख्न सिक्दै गरेको म, यसरी नियमित हेर्ने, सल्लाह दिने साथी पाउँदा खुसी नहुने कुरै थिएन। केही नयाँ स्वरुपमा ब्लग ल्याउन यो राम्रो ब्यानर समेत बनाइदियो। यो सबैका लागि म आभारी छु।


ब्लगमा केही नयाँ पनि त लेख्नै पर्‍यो। २-४ दिन अगाडि कुरै कुराको क्रममा साथी सन्तोषकै सहयोगले तयार पारेको गजल यस्तो बनेछ:-

बर्षातमा ओढ्ने कुनै छाता पाइएन
नया किताब छाप्नुपर्ने गाता पाइएन

घर चुह्यो खरले छाए, मन फेरी चुहेको छ
मनलाई छाउने कुनै जस्तापाता पाइएन

मन बोल्यो आखा बोले, जिब्रो बोल्न खोजेको छ 
खै के भनि बोलाउने नाता पाइएन

थुप्रै आए सापट लागे जवानीमा मन-मुटु
मनको हिसाब राख्न मिल्ने खाता पाइएन

साथ माग्न, हात माग्न थुप्रै थुप्रै आएका छन्
तिमी जस्तै मनकारी कोहि दाता पाइएन

Thursday, July 18, 2013

मेहन्दी




मेहन्दी

काश,
ती हातमा कोरिएका
मेहन्दी बुट्टा झैँ
सुन्दर हुँदो हो जीवनको बाटो
र छर्दो हो सुवास
ती हातमा मेहन्दीले झैँ गरि,
सत्य,
केहि दिनमा मेटिने मेहन्दीले
हातमा होइन
कहिल्यै नमेटिने मुटुमा
लेख्ने थिएँ तिम्रो नाम ! 
#श्रावण कविता  

Saturday, June 15, 2013

घाम र छाया

जब घाम मेरो अगाडी हुन्छ
उ मेरो पछाडि हुन्छ
घाम मेरो पछी पछी सर्दा
उ मेरो अघि अघि हिड्छ
घाम दाँया हुँदा उ बाँया हुन्छ
घाम बाँया हुँदा उ दाँया हुन्छ
जब समयले दिनको बाह्र बजाउछ
र घाम मेरो थाप्लोमाथी आउछ
मेरै छायाले पनि मेरो साथ दिन सक्दैन
मेरै पैतालामुनी उ जो हराउँछ।

Tuesday, June 11, 2013

गजल

जे देखिन हुन्न थियो त्यही देख्दा पो त दिक्क लाग्छ
सधैं सधैं उही कुरा  लेख्दा पो त दिक्क लाग्छ
दिक्क!!

जिन्दगीमा धेरै कुरा पाइएन ठिकै थियो
हावा पनि तिन्ले त्यतै छेक्दा पो त दिक्क लाग्छ

यति ठुलो धर्ती छाडी ठुलाबडा भनौदाले
गरीबकै शिरमाथी टेक्दा पो त दिक्क लाग्छ

देशमै हुनुपर्ने हाम्रो प्यारो प्रजातन्त्रलाई
दिल्ली अनी वाशिङ्टन्मा भेट्दा पो त दिक्क लाग्छ

२०६९ कार्तिक १० 

Tuesday, April 30, 2013

गजल





तिमी कुद्ने घरमाथीको बाटो मासिएछ
हामी खेल्ने चौतारीको ढुङ्गो भासिएछ

गोठालोमा लुकामारी खेल्ने बनै भरी
बिकाशको नाममा कुरुप सडक टाँसिएछ

चिसो पानी झर्ने खोल्से ढुङ्गे धारो भरी
काला सर्प जस्तै लाग्ने पाइप गाँसिएछ

दुख, सुख जे पर्दा नी साथै हुन्थे गाँउले
मान्छे सबै एक्लिएछन, गाँउ त नासिएछ!

Saturday, April 27, 2013

तिमी

तिमीलाई सम्झने बित्तिकै,
स्‍मृतिका हार्डडिस्कबाट
फटाफट-
चिनियाँ रोल खुलेझैं,
अनेक चित्रहरू खुल्न थाल्छन् ।
तिनै सम्झनाका
उर्लँदा छालहरू टेकेर
म कैंयौ पटक पुगेको छु
आफ्ना विपनाका पोखरीदेखी
तिम्रा सपनाका समुद्रहरूसम्म।

बिर्सन खोज्दापनि तिमीलाई
सुनौला सम्झनाका पानीफोटाहरू
मगजै हल्लिने गरी
मेरो बिश्वासको बगैँचामा
आस्थाको गीर खेलिरहन्छन् ।
तिम्रो सम्झनामा उदासीएको साँझ,
यीनै साँघुरा नागबेली बाटो हुँदै
म थुप्रै पटक कुदेको छु
मेरा ओसिला झुपडीदेखि
तिम्रा सुकिला-चम्किला महलहरूसम्म।

आजकाल त म बाँचेको प्रमाण
तिम्रा सम्झनाहरू मात्रै छन्
साँच्चै, मनभरी शब्द बोकेर पनि
मैले कहिल्यै लेख्न नसकेको
अलिखित कविता हौ तिमी । 

Thursday, April 18, 2013

नयाँ वर्ष


यो नयाँ वर्षमा,
आशा गरौं
आकाशबाट झर्नेछ एक टुक्रा जून
र मझेरीमा पोखिएर
हटाउनेछ त्यसले
हाम्रो आंगनको अँध्यारो

सपनाको फूलबारीमा फुल्नेछ
केही थान सुन्दर फूलहरू,
उदाउनेछ रातो सूर्य
र बेफिक्री निदाइरहेको देशमा
विपनाको पैरवी गर्न
फर्किनेछ विश्वासको नायक

एउटा वर्षलाई बिदा गर्नुछ सधैंका लागि,
र बाँकी छन् नमेटिएका सम्झनाहरू ।
केही थान तिनै सुदूर सम्झना बोकेर
यो चन्द्रागिरीको फेदीबाट
म कुरिरहेछु अर्को रातो घाम!
सुन्दर, शान्त बिहान!

नयाँ बर्षको शुभकामना!